चितवन, २६ जेठ । विवादमा रहेको भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पश्चात राजनीतिक दलहरु आ–आफ्नै तरिकाले निर्वाचनको प्रचारप्रसारलाई तिव्रता दिदै घर दैलो अभियानमा जुटेका छन् । राजनैतिक दलका कार्यकर्ताद्वारा मतपत्र च्यातिए पश्चात निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । सो आदेशको विरुद्धमा नेकपा एमाले दिलो ज्यान दिएर लागे पनि फरक शैली अपनाउँदै चुनावी मैदानमा उत्रिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् । नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा काँग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका हुन् । सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् । ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा काँग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका थिए । एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पु¥याएको पुष्टि भएको छ । ठूला तिनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा अघि बढेका छन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हँुदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ वटा वडा छन् । जसमध्ये वडा नं– १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको थियो । यो सहित वडा नं–२० को मात्र मतगणना गर्न बाँकी छ । दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि थिए । वडा नंम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । मतपत्र च्यातिए पश्चात लम्बिएको विवाद अन्ततः पुन चुनाव हुने भए पछि सेलाउँदै गएको छ । भरतपुर महानगरपालिकामा दाहाल या ज्ञवाली कस्ले वाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
फरक शैलीमा प्रचार सुरु
0
Shares