धनगढी, पुष ३० । राष्ट्रियसभाको निर्वाचन भएपछि संसद्ले पूर्णता पाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आइतवार आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को उद्घाटन गर्दै उनले राष्ट्रियसभाको निर्वाचनपछि आफु सरकारबाट बाहिरिने स्पष्ट पारे । उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै उक्त क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए ।
उक्त अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले निर्वाचनमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजना अनुसार यस वर्ष बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिले बताएको छ ।
प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यता अनुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताए । गोदावरी धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ ।
मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ । हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोदावरीमा मेला लाग्दै आएको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी धामस्थित गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास रहीआएको छ ।