योग दिवसको अवसरमा र्यालिको आयोजना

काठमाडौँ, माघ १ । राष्ट्रिय योग दिवस–२०७४ को अवसरमा ‘योग गरौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आज काठमाडौँमा र्यालिको आयोजना गरिएको छ ।

शिक्षा मन्त्रालयको आयोजनामा भएको सो र्यालिमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति नेपालसहित योग साधक, विद्यालयका छात्रछात्रा तथा प्रहरी एवं ब्याण्ड बाजागाजाका साथ नगर परिक्रमा गरिएको थियो ।

शान्तिबाटिकाबाट शुरु भएको सो र्यालि रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, खिचापोखरी, इन्द्रचोक तथा भोटाहिटी हुँदै पुनः शान्तिवाटिकामा आई सम्पन्न भएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले योग दिवस आज एक दिन मनाएर पुग्दैन, हरेक मानिसको स्वस्थ्यताका लागि व्यक्तिले योगलाई जीवनभरिका लागि आत्मसात् गर्नुपर्ने बताए ।

उनले‘सबैका लागि सधैँका लागि योग’ भन्ने नाराका साथ यो अवसरलाई देशव्यापी जनचेतना फैलाउने तथा योगलाई घरघर पुर्याउनुपर्नेमा जोड दिए । रेग्मीले मानिसमा बौद्धिक तीष्णता वृद्धि गर्ने तथा सुखी र सम्पन्न जीवन बिताउन पनि योगको महत्व रहेको उल्लेख गरे ।

समापन मन्तव्य व्यक्त गर्दै मन्त्रालयका सहसचिव डा हरि लम्सालले सरकारले योगको महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए । र्यालीको संयोजन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरेको थियो