दाङ, २६ जेठ । दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी रौनकता एक्कासी बढ्दै गएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको दाङमा चुनावी चहल पहल र रौनकतामा थप उल्लासमय भएको छ । प्रमुख दलहरुका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै घर दैलो अभियान तथा सभा समारोहलाई तीव्रता दिन थालेका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न सबै दलका नेता तथा कार्यकर्ताहरु मतदाताको घरदैलो तथा भेटघाट कार्यक्रमलाई व्यस्त देखिन्छन् । उपमहानगरपालिका तथा नगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारको टुङ्गो लगाउन नसके पनि नेपाली काँग्रेसले प्रचारप्रसार अभियानलाई तिव्रता दिइरहेको छ । विभिन्न कारण देखाउँदै उम्मेदवारको टुङ्गो कांग्रेसले लगाउन नसक्दा स्थानीय तहमा केही असहज अवस्थाको सृजना भएको पाइएको छ भने नेकपा (एमाले)ले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरी उम्मेदवार दत्तचित्तका साथ मतदाता समक्ष आ–आफ्ना एजेण्डा प्रस्तुत गर्दै घर दैलोमा व्यस्त छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ । विगत लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हाल हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित देखिन्छन् । विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् । शहरबाट विभिन्न पेसा व्यवसाय गरेर बस्ने विभिन्न पार्टीका समर्थक कार्यकर्ताहरु आफ्नो कामलाई स्थगन गर्दै चुनावी मैदानमा होमिएको देख्न सकिन्छ ।
बढ्यो दाङमा चुनावी रौनकता
0
Shares