वैचारिक जागरण अभियान सुरु गर्न तरुण दलका महामन्त्री शाहीलगायत कांग्रेसका १० युवा जुर्मुराए

काठमाडौं, माघ २ । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलगायत कांग्रेसका १० जना युवा नेताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य लागि वैचारिक जागरण अभियान सुरु गर्न माग गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले निर्वाचनमा भएको हारको बिशेष छानबिन समिति गठन गरी नियमित महासमिति बैठक बस्न माग गरेका छन् ।

कांग्रेसको महासमिति सदस्य समेत रहेका शाही, धर्मेन्द्र नेम्वाङ, विनिता अधिकारी, खड्ग डाँगी, सुनिता अधिकारी, रौतहटको परोहर नगरपाकिका मेयर सेख वकिल, बाग्लुङका क्षेत्रीय सभापति चिरञ्जिवी गौतम, लम्जुङका क्षेत्रीय सभापति वृर्षराज गुरुङ तथा बझाङका मञ्जीत ताम्राकार र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलिले विज्ञप्ती जारी गरी यस्तो माग गरेका हुन् ।

पार्टीका हरेक तहमा ५० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने, भातृसंगठनलाई पूर्णता दिई पार्टी चुस्त बनाउन माग गरेका छन् ।

सुन्दर नेपाल–समृद्ध नेपाल अभियान समेत सुरु गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । चुनावमा पराजित भएपछि पार्टीका युवा नेताहरुले पार्टी नेतृत्वमाथि दबाब बढाउदै लगेका छन् ।

मिति २०७४/१०/०१
प्रेस विज्ञप्ती
नेपाली काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारि गरि स्थानिय, प्रदेश र प्रतिनिधि सभाको निवार्चन सम्पन्न भएको छ । निर्वाचन पछि मुलुकले संक्रमणकाल पार गरेको छ । कांग्रेसको नेतृत्वमा निर्वाचन त भयो तर कांग्रेसको पक्षमा परिणाम नआएपछि पार्टीभित्र यसका बारेमा ब्यापक वहस हुन थालेको छ । यो निर्वाचनमा कांग्रेसले किन हार व्यहोर्नु पर्यो ? यसको समिक्षा र कांग्रेसलाई शुद्धिकरण र सुदृढिकरण गरि भविष्यमा कांग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन बैचारीक जागरण अभियान प्रारम्भ गर्न नेतृत्व समक्ष जोडदार माग गर्दछौँ । साथै पार्टीमा आमुल रुपान्तरणको लागि केही बिचारहरु अघि सारेका छौँ । यो बैचारीक जागरण अभियानमा कांग्रेसका नेता कार्यकर्ता, शुभचिन्तक, समर्थक र बुद्धिजिविहरुको सुझाव सल्लाह र सहभागिताको लागि विनम्रता पूर्वक हार्दिक अपिल गर्दछौँ । 
१. नेपाली कांग्रेसभित्र आपसी भातृत्वको विकास गरि गुटबन्दिको समुल अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउन अति आवश्यक भएको छ । 
२. पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्न केन्द्र, जिल्ला, र गाउँतहसम्म विचार सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान शुरु गर्न जरुरी छ । 
३. निर्वाचन समिक्षाको लागि टालटुले पारामा होईन, गहिराईमा गएर छलफल गर्न विशेष छानविन समिति ठगन गरेर सबै निर्वाचन क्षेत्रमा पुगेर, सबै पक्षसँग छलफल गरेर के कति कम्जोरीका कारणले यस्तो परिणाम आयो त्यसको बारेमा सत्य तथ्य पत्ता लगाउनु पर्छ ।
४. नेपाली कांग्रेसमा महासमिति वैठक बस्नु कुनै नौलो विषय होईन यो विधानमै उल्लेख भएको कुरा भएकाले यो पटक मात्रै होईन हरेक वर्ष नियमित महासमिति वैठक हुने सुनिश्चित गरिनु पर्छ । 
५. निर्वाचनमा आएको परिणामको जिम्मेवारी स्वभाविक रुपमा नेतृत्वको हुने भएपनि सम्पूर्ण दोषको जिम्मेवारी पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीलाई मात्रै नदिएर सिंगो केन्द्रीय समितिका सदस्यहरुले समेत लिनुपर्छ । 
६. समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहोर्याउनु हुँदैन । दोहोर्याउनु समानुपातिक समावेसि सिद्धान्तको विपरित कार्य हुने भएकाले पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेसिबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढि अवसर नपाउने व्यवस्था कडाईको रुपमा लागू गर्नु पर्छ । 
७. पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँतहसम्म प्रशिक्षण अभियान मार्फत नेपाली कांग्रेसलाई सवल, सक्षम र शसक्त पार्टी बनाउन आवश्यक छ । 
८. पार्टीलाई आजका दिनसम्म ल्याइपुर्याउने अग्रज नेताहरुको योगदानको मूल्याङकन गर्दै उच्च सम्मान गरि पार्टीलाई थप अगाढि बढाउन यूवाहरुको उर्जा, चेतना र क्षेमतालाई सदुपयो गर्न पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत यूवा प्रतिनिधित्वको ग्यारेण्टी गरिनुपर्छ । 
९. पार्टीका संस्थापक नेता विपि कोईरालाले देखाउनु भएको बाटो र विचार प्रजातान्त्रिक समाजवादबाट पन्छिएर कांग्रेस राष्ट्रिय मुद्धामा अलमल र अनिर्णयको बन्दि हुन मिल्दैन । हरेक राष्ट्रिय मुद्धामा कांग्रेस प्रष्ट अडानकासाथ अगाढि आउनु पर्छ । 
१०. नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दुरी घटाएर पार्टीभित्र कोही सानो र ठुलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौ भन्ने आपसि भातृत्वको भावनाको विकास गरि तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यबहार हुन जरुरी छ । व्यक्तिवादी चरित्र र अनुसासनहिनताको अन्त्य हुन जरुरी छ । 
११. देश विकासको बाधकको रुपमा रहेको भष्ट्रचारलाई निर्मूल पार्न ‘भष्ट्रचार मुक्त नेपाल, शुसाशन यूक्त नेपाल’ अभियान देशभर संचालन गर्नुपर्छ । 
१२. तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर पार्टीलाई चुस्तदुरुस्त बनाउन संगठन निर्माणमा सबैलाई परिचालन गर्नुपर्छ । 
१३. महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशिल सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गरेर हरेक वर्ष पारदर्शि रुपमा क्रियाशिल सदस्यता वितरण गर्नुपर्छ । 
१४. बढ्दो जनसंख्या र वृद्धि भएको पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रिय कार्य समितिको आकार बढाउन जरुरी छ । जिल्लामा २० देखि ३० जना सदस्य थप गर्ने र पार्टीमा सामुहिक नेतृत्व प्रणाली स्थापित गर्न पदाधिकारीको संख्या थप गर्नुका साथै केन्द्रिय समितिमा खुल्ला तर्फको केन्द्रिय सदस्य २५ बाट बढाएर ४५ र समावेसी तथा प्रदेशमा अहिलेको भन्दा दोब्बर केन्द्रिय सदस्यहरु निर्वाचित हुने व्यबस्था गर्नुपर्छ ।
१५. नेपाली कांग्रेसले हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको छ । अव कांग्रेसको अग्रसरतामा मुलुकको समुन्नति र समृद्धिको लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ । यसको लागि आर्थिक विकासको सम्भाव्यता भएको क्षेत्र, पर्यटन, कृषि जडिवुटि र जलस्रोतमा व्यापक लगानिको वातावरण सिर्जना गरि गाउँगाउँमा विकास र यूवाहरुलाई स्वदेशमै रोजगारी अवसर प्रदान गर्न कांग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान शुरु गर्नुपर्छ । 
जय नेपाल ।
भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस महासमिति सदस्य, कालिकोट प्रदेश नं. ६ 
धमेन्द्र नेम्वाङ, नेपाली कांग्रेस महासमिति सदस्य, पाँचथर प्रदेश नं. १
विनिता अधिकारी, नेपाली कांग्रेस महासमिति सदस्य, दोलखा प्रदेश नं. ३
खड्क डाँगी नेपाली कांग्रेस महासमिति सदस्य, रुकुम प्रदेश नम्बर नं. ६
सेख वकिल, परोहा नगरपालिका मेयर, रौतहट प्रदेश नं. २
सुनिता अधिकारी, नेपाली कांग्रेस महासमिति सदस्य, पाल्पा प्रदेश नं. ५ 
चिरञ्जीवि गौतम नेपाली कांग्रेस क्षेत्रिय सभापति बाग्लुङ, प्रदेश नं. ४ 
वृर्षराज गुरुङ, नेपाली कांग्रेस क्षेत्रिय सभापति, लम्जुङ, प्रदेश नं. ४
मञ्जीत ताम्राकार, पूर्व महाधिवेशन प्रतिनिधि, बझाङ, प्रदेश नं. ७
खेमराज वलि, नेपाली काँग्रेस, गुराँस गाउँपालिका अध्यक्ष, प्रदेश नं. ६ 

                                साभार : imagekhabar.com