महानगरपालिकाले लगायो भित्री सडकमा चारपाङ्ग्रेलाई रोक

काठमाडौँ, माघ २ । सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ ।

कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म उपत्यकाका भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी गराए ।

कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्र पर्ने क्षेत्रका सम्पदालाई जोगाउनका लागि सो निर्णय गरिएको बताउँदै उनले सम्पदाको संरक्षण गर्ने कार्य एकातिर रहेको र अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप हुने भएकाले दुर्घटना पनि हुने गरेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

निषेध गरिएका स्थानहरुमा जवरजस्ती कसैले पनि सवारी साधन चलाएमा रु ५०० देखि रु एक हजारसम्म जरिवाना र अन्य थप कारबाहीसम्म पनि हुने कामपाले बताएको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी गराए ।

चारपाङ्ग्रे सवारी साधनलाई भोटाहिटीबाट असन चोकसम्म एकतर्फी रोक लगाइएको छ । यस्तै नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बाङ्गेमुढा हुँदै भेडासिं, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल, बाङ्गेमुढा भेडासिं हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने व्यवस्था गरिएको छ ।

साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिं, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

बेलुकी ७ देखि बिहान ७ बजेसम्म भने सबैखालका सवारी साधन सो स्थानमा आवतजावत गर्न पाउने व्यवस्था छ ।