समय परिस्थिति अनुसार संविधान परिष्कृत गरिने : खनाल

काठमाडौँ, माघ २ । वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

अनेरास्ववियुले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले समय परिस्थिति अनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए ।

नेपालको सीमांकन अझै नटुंगिएकोमा दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री खनालले भने सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । तर अझै पनि सुस्ता र कालापानीजस्ता धेरै ठाउँमा सीमा विवाद रहेको भन्दै ती सिमाना कूटनीतिक रुपमा समाधान गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने तथा भारत र चीनको सहयोगमा अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । उनले एमालेमा पुस्तान्तरणको आवश्यक परेकाले युवाले नेतृत्व लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा माक्र्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।