राष्ट्रियसभाको निर्वाचन तोकिएकै समयमा गराउन एमालेको जोड

काठमाडौँ, माघ ३ । राष्ट्रियसभा निर्वाचन तोकिएको समयमा नै गराउन नेकपा(एमाले)ले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ भएको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी गराए । उनले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरिएको ढिलाइले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रियसभा निर्वाचनको मिति तय गर्न माग गरिएको बताए ।

कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नु पर्नेमा बैठकले जोड दिएको भट्टराईले जानकारी गराए । बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ ।

 उनले भने राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पुर्याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका छौँ, प्रदेशबाट सिफारिश मागेका छौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेका छन् तर अब राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न भनेका छाँै । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नगरेको उनको भनाइ छ ।