सुनसरीमा सबै काँग्रेसका उम्मेदवार चयन

सुनसरी, इनरुवा, । स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवारको चयन गरिसकेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई मेयरको उम्मेदवारमा चयन गरेको छ । धरान उपमहानगरपालिकाको उप–मेयरमा श्यामा रेग्मी उम्मेदवार चयन गरेको छ भने इनरुवा नगापालिकाको मेयरमा राजन मेहता र उप–मेयरमा जमुना पोखरेललाई चयन गरिएको छ । दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ । रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए । बराह नगरपालिकामा मेयरमा बाबुराम बिष्टलाई र उप–मेयरमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ । गढी गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद यादव र उप–प्रमुखमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । बर्जु गाउँपालिकाको प्रमुखमा इस्राइल अन्सारी र उप–प्रमुखमा खुसीदेवी चौधरीको उम्मेदवार टुङ्गो लगाइएको छ । देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ । कोसी गाउँपालिकाको प्रमुखमा अयुब अन्सारी र उपप्रमुखमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको सभापति कोइरालाले जानकारी दिए । काँग्रेसको चुनावी प्रचार कार्यक्रम अन्तर्गत घरदैलो अभियान भइरहेको छ ।