काँग्रेस केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ, माघ ४ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा विहानदेखि शुरु भएको छ ।

 यो बैठक हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको पहिलो पटक बसेको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा थालिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु सहभागी भएका छन् ।

निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बसेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल थालिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस दोस्रो स्थानमा पुगेको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनको सैद्धान्तिक विषय, निर्वाचनमा अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षणलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य बालकृष्ण खाँणले जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै जारी अध्यादेश अनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुँदैछ । उक्त निर्वाचन प्रणालीका बारेमा उम्मेदवार तथा मतदातालाई आवश्यक प्रशिक्षण गर्नुपर्ने आवश्यकता भएकाले काँग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउने बारेमा समेत निर्णय गर्ने उनले जानकारी गराए ।

सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । सोही अनुसार निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । राष्ट्रियसभा निर्वाचनको तयारीका लागि सरकारले बुधबारमात्रै मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको अस्थायी केन्द्रसमेत तय गरेको छ ।

सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेपछि बुधबार नै आयोगले पनि प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।