धनकुटामा अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ । सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि थप आक्रोशित बनेको धनकुटा तनावग्रस्त बन्न पुगेको छ ।
आज आन्दोलनले उग्र रुप लिएपछि अनिश्चितकालिन स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । बिहान ११ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जनाएका छन् ।
बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म कर्फ्यू लगाइएको छ । स्थिति नियन्त्रण गर्नका लागि सुनसरीबाट थप सुरक्षाकर्मी झिकाइएको जनाइएको छ ।
धनकुटालाई नै प्रदेश राजधानी बनाउन माग गरेका धनकुटेलीले बिहिबार बिहानैदेखि विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी समेत गरेका थिए ।
ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप र ढुंगा हानाहान भएको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् । सरकारले बुधबार विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी तोकेको हो । लामो समयदेखि धनकुटामा बन्द, हड्ताल हुँदै आएको छ ।