काठमाडौँ, माघ ४ । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा अधिकतम सिट हासिलका गर्नका लागि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले रणनीति बनाउने भएको छ । आजदेखिशुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको बताइएको छ ।
काँग्रेसले वाम गठबन्धन बाहेकका राष्ट्रिय जनता पार्टी (राजपा)लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने विषयमा पनि धारणा बनाएको बताइएको छ । सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । राजपालगायत कम सिट भएका दलसँग पनि सहकार्य गरेर अधिकतम सिट हासिल गर्ने गरी रणनीति बनाउने सम्बन्धमा केन्द्रीय समितिमा छलफल भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन् ।
प्रधानमन्त्रीएवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरूको उपस्थिती रहेको थियो ।
बैठकमा करिब तीन दर्जन सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । बोल्ने अधिकांश सदस्यले प्रदेशसभा र प्रतिनिधसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको परिणामबारे नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले पार्टी सभापतिको कमजोरीले पार्टीलाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका थिए । राष्ट्रियसभाको निर्वाचन रणनीति बनाउने सन्दर्भमा बोलाइएको बैठकमा नेताहरुले नेतृत्वको कडा आलोचना गर्नमै अधिकाँश समय खर्च गरेका थिए । केन्द्रीय सदस्य घिमिरेका अनुसार आज बोल्ने अधिकांश सदस्यले नेतृत्व प्रति आलोचना गरेका छन् ।
बैठकका विषयमा जानकारी दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको जानकारी गराएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक बैठक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टी भित्र नेतृत्वको आलोचनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।
0
Shares
Share on Facebook