काठमाडौं, माघ ५ । सरकारले तोकेका सातवटै प्रदेशका प्रदेश प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सरकारले नियुक्त गरेको प्रदेश प्रमुखको राष्ट्रपति कार्यालयमा दिउँसो ३ देखि अपरान्ह ४ बजेको बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले बताएको छ ।
बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहिबार सार्वजनिक बिदा परेकाले त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको गरेको हो ।