२१ वटा राजनीतिक दलले पाए निर्वाचन चिह्न

काठमाडौँ, माघ ५ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।

आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकार भित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।  नेपाल मजदूर किसान पार्टी (मादल),नेपाल संघीय समाजवादी पार्टीलाई (बस), बहुजन शक्ति पार्टी (जग), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी), नेपाल परिवार दल (साँचो), नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा),राष्ट्रिय जनमोर्चालाई (गिलास) चिन्ह दिइएको छ ।

यसैगरी, विवेकशील साझा (तराजु), राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो), राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई), नयाँ शक्ति पार्टी नेपाल (देब्रे आँखा), नेपाल दलित पार्टी (इनार), गान्धीवादी पार्टी नेपाल (भेडा), बहुजन समाज पार्टी नेपाल (जिराफ), नेपाली जनता दल (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार (षटकोण) चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जानकारी गराएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिनेछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनोट हुनेछ ।
राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो । कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ ।