इलाम माघ ५ । तीनजना पूर्व खेलाडी जिल्ला फुटबल संघ इलामको छैटौँ अधिवेशन तथा साधारणसभाको अवसरमा सम्मानित भएका छन् ।
इलाम सदरमुकाममा बिहीबार आयोजित कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका–७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राई लगायतका तीन जना पूर्व खेलाडी लाई सम्मान गरिएको हो ।
पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङले उनीहरुलाई सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए । यसै, अवसरमा इलाम नगरपालिकाका मेयर बस्नेतले नगर कार्यपालिकाले नगरका १२ वटै वडामा एकएक खेल मैदान तथा कभर्ड हल बनाउने नीति रहेको जनाए ।
यस आर्थिक वर्षमा तीनवटा वडामा खेल मैदान निर्माण गर्नको लागि बजेटसमेत विनियोजन भएको उनले बताए । जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत, विशेष अतिथि पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति इलामकी कार्यालय सचिव अमृता घिमिरे, पत्रकार राजेश पराजुली, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै खेल र खेलाडी राष्ट्रका गहना रहेको विचार व्यक्त गरेका थिए ।
यसैबीच, इलाम सदरमुकाममा सम्पन्न जिल्ला फुटबल संघको छैटौँ अधिवेशनले महेश श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमा क्रमशः विक्रम श्रेष्ठ, मणीकुमार गुरुङ र महानन्द भक्तराज गरी तीन जनालाई छनोट गरिएको छ ।
संघको महिला सदस्यमा अस्ना श्रेष्ठ तथा अन्य सदस्यमा निरोज खड्गी, ज्ञानबहादुर राई, डिडेन देवान, सेवक देवान, चिरञ्जीवी निरौला, दीपेश गुरुङ, मोहनकुमार राई र विजयकुमार सुब्बा (अशोक) लाई छनोट गरेको छ ।
महासचिवमा रजत खड्का र कोषाध्यक्षमा सुवास राईलाई मनोनीतसमेत गरिएको छ । यसैगरी, संघको पहिलो बैठकले चारजना फुटबलसँग सम्बन्धित क्लबका प्रतिनिधिलाई मनोनीत गरिएको छ ।
त्यसमा होलीबोध फुटबल क्लबबाट प्रकाश दुलाल, त्रिवेणी युथ क्लबबाट पवनकुमार श्रेष्ठ, देउराली स्पोर्टिङ फुटबल क्लबबाट लिला बुर्जा र क्लब ओएसिसबाट प्रज्वल मुखिया मनोनीत भएको नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले बताएका छन् ।