परियोजना कार्यान्वयनमा विश्व बैंकले ऋण उपलब्ध गराउने

काठमाडौँ, माघ ७ । नेपालको सामाजिक– आर्थिक क्षेत्रको विकासमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

व्यवसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न बैंकले नेपाल सरकारलाई ऋणस्वरूप सो रकम उपलब्ध गराउन लागेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि सो बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आइतबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका छन् ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यवसायिक शिक्षा तथा तालीम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदातृ निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले बताएको छ ।

पशुपंक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा मद्दत पुग्दछ । त्यसैगरी भैँचालोबाट प्रभावित ९६ हजार निजी घर पुनःनिर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ ।

सो परियोजना राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ । देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार व्यक्त गरे ।