अस्पतालको चमेनागृहमा आगलागी

काठमाडौँ, माघ ७ । आज अपराह्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चमेनागृहमा ग्यास चुहिँदा आगलागी भएको छ ।

अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको अस्पतालका प्रशासक रानु थापाले बताए ।

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगलागी भएको हो ।

उनले भने आगलागीबाट अरु कुनै भौतिक क्षति भएको छैन, हामीले दमकल पनि बोलाएका थियौँ तर दमकल आउनुपूर्व नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका कारण कुनै क्षति हुन भने पाएन ।