उदयपुर, माघ ८ । उदयपुर जिल्लाको रौतामाई–२ मा माघ १ गते भएको आगलागीमा परी बिचल्ली भएका पाँचघरका परिवारलाई आइतबार राहत वितरण गरिएको छ ।
चिसो बढ्न थालेपछि आगो ताप्ने क्रममा माघ १ गते दिउँसो आगोलागि भएको हो । बालबालिकाले आगो ताप्ने, खेलाउने क्रममा भएको सो आगलागीबाट पाँचघरमा आगलागी भएको थियो । उक्त आगालागीबाट घर गुमाएका २४ जना परिवारलाई आइतबार जिल्ला रेडक्रसका प्रतिनिधिसहित रौतामाई गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा केही राहत वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।
प्रतिघर परिवारलाई एक–एक बोरा चामल तथा भाँडाकुँडा, लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडा पीडित बसेको स्थानमा गएर वितरण गरिएको हो । यस्तै, नगद रुपैयाँ प्रतिपरिवार तीन हजारका दरले समेत वितरण गरिएको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले बताए ।
राहत प्राप्त गर्ने अग्नि पीडित परिवारमा कर्णबहादुर विक, रणबहादुर विक, मेघबहादुर विक, चक्रबहादुर विक र सम्झना विक घरमूली रहेका छन् । यता पीडित परिवारले भने तत्काल आफूहरूसँग बस्ने घर नभएको, घर निर्माण गर्ने रकमको अभाव भएको र छोराछोरीहरलाई विद्यालय पठाउने खर्च तथा अन्य खाने अन्नपानी समेत नभएको गुनासो गरेका छन् ।
खरको छानोको घर आगलागी भएपछि पीडित नजिकैका गाईगोठ वस्तु गोठमा अस्थायी रूपमा बस्दै आएका छन् । रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले पीडितको घर निर्माण गर्न र उनीहरूको नानीको पठनपाठनमा आर्थिक सहयोग जुटाउन आफुले पहल गर्ने बताएका छन् ।