काठमाडौं, माघ ८ । राष्ट्रियसभा निर्वाचनबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल थालेको हो ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका दल र मधेसवादी दलसँग राष्ट्रियसभा निर्वाचनका लागि छलफल थालेको बताएका छन् । अन्य दलसँग तालमेलको तयारी भए पनि अन्तिम टुंगोमा भने पुगि नसकिएको उनको भनाइ छ ।
माघ २४ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने गरी उम्मेदवारी दिने नेताहरुको भनाइ छ । पार्टीको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको जनाइएको छ ।
प्रदेश अनुसारको जिल्ला सभापतिको भेला शुरु
कांग्रेसले प्रदेश अनुसारको जिल्ला सभापतिहरु भेला गर्न थालेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न कांग्रेसको जिल्ला सभापतिहरुको भेला गर्न थालेको हो ।
भेलामा निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल हुनेछ । कांग्रेसले जिल्ला सभापतिको भेलाबाट आएको निष्कर्षका आधारमा नयाँ रणनीति तय गर्नेछ ।
काँग्रेसका प्रदेश १ का सभापतिहरुको भेला आज खोटाङको हलेसीमा हुँदैछ । प्रदेश नं ३ का जिल्ला सभापतिको भेला भने आउदो शुक्रबार भक्तपुरमा हुनेछ ।