दमक । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल रिकन्सिलेसन कमिटी भुटानले बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित रहेको तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुनेछ भन्ने कुरा जारी गरिएको बधाई पत्रमा उल्लेख छ । भुटानी शरणार्थी समस्याको दिगो समाधान स–सम्मान स्वदेश फिर्तीमात्र भएको उल्लेख गर्दै सो कमिटीले स्वदेश फिर्तीको विकल्पलाई थाती राखेर तेस्रो मुलुकमात्र पुनर्वास गराउने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था (युएनएचसिआर) को विकल्पले भुटानी शरणार्थीको भविष्य अन्योल बनाएको जनाइएको छ । कमिटीका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाली काँग्रेसको सरकार रहँदा शरणार्थीलाई गाँस, वास, कपास उपलब्ध गराएकाले अब उनको कार्यकालमा भुटानी शरणार्थी समस्याको न्यायोचित तथा दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ । यसैगरी कमिटीले संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायोगलाई समेत पुनः स्मरणपत्र पठाउँदै भुटानी शरणार्थी समाधानका लागि अख्तियार गरिएको विकल्प मध्ये स्वदेश फिर्तीको प्रस्ताव गरिए पनि त्यस अनुरुप काम हुन नसक्दा पूर्वी नेपालका शिविरमा आश्रित भुटानी शरणार्थी मारमा पर्नुपरेको उल्लेख गरिएको छ । कमिटीले स्वदेश फर्कन पाउने शरणार्थीहरुको अधिकार सुरक्षित रहेकाले भुटान सरकारलाई आफ्ना नागरिक लैजान दबाब दिन आग्रह गरेका छन् ।
भुटानी शरणार्थीले दिए प्रधानमन्त्री देउवालाई बधाई
0
Shares