हिन्दु धर्मावलम्बीको आश्थाको धरोहर बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

इटहरी । विगत केही बर्ष यता सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र उच्च जोखिममा परेको भन्दै सो स्थानका स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण बारम्बार गराउँदै आएका छन् । हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराह क्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान भइरहेकोले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले जानकारी गराएका छन् । प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सँुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने जनविश्वास छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रविन्दु बन्न पुगेको हो । सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट बर्षेनी माथिल्लो भागको जमिन कटान गरिरहेकाले सो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आए पनि सरकारी निकायबाट त्यसतर्फ ध्यान पुग्न सकेको छैन । दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब पाँच छ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण भई उच्च सतर्कताका साथ मन्दिर जोगाऔं अभियानमा सरकार सामेल हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै स्थानीयवासीहरु आक्रोसित भएका छन् । दुई वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बराहक्षेत्र मन्दिर रहेको पहाडलाइ जिर्ण अवस्थामा पु¥याएका कारण पनि माथिल्लो भागबाट पहिरो खस्ने जोखिमसमेत बढेको सो मन्दिरका पण्डित योगेश भण्डारीको भनाइ रहेको छ । पण्डितका अनुसार तलतिरबाट सप्तकोसीको कटान र माथिल्लो भागबाट आउने पहिरोका कारण बराहक्षेत्र तीर्थस्थल अति संवेदनशील स्थानमा परिणत हुँदै गएकोले राज्यले समयमा नै उचित कदमको थालनी गरी धार्मिक स्थल बराहक्षेत्रलाई जोगाउनुपर्ने बताउँछन् ।
पर्यटकीय दृष्टिकोणले पनि नेपालका लागि रमणीय स्थलको रुपमा लिइन्छ । बराहक्षेत्र दर्शनको लागि नेपाल, भारतलगायतका हिन्दू धर्मावलम्बीहरुले दर्शन गर्ने सो मन्दिरको मर्मतका लागि सरकारी निकायबाट समयमा नै ध्यान पुग्नु जरुरी देखिन्छ । हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको पावन भूमि बराहक्षेत्रका प्राचीन एवम् पौराणिक महत्वलाई बचाइ राख्नका लागि अहिले नै राज्य वा सम्बन्धित निकायले ध्यान नदिने हो भने भविष्यमा यसले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्ने भएकाले मन्दिर मर्मत गर्न सबै एक भई लाग्नु जरुरी छ ।