बजेट अभावका कारण कामपाको इन्टरनेट राख्ने कार्य अन्यौल

काठमाडौँ, माघ ९ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम अर्थ अभावका कारण अन्यौलमा परेको छ ।

कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायतका स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए । एक स्थानमा इन्टरनेट राख्नका लागि रु ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अगाडि बढ्न नसकेको काफ्लेको भनाइ छ ।

इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन, त्यो पनि मुख्य विषय हो, काफ्लेले भने । पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मक रुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने कामपाको भनाइ छ ।

कामपाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्या बढेको थियो ।