काठमाडौँ, माघ ९ । स्थानीय तह सञ्चालनका लागि मद्दत पुर्याउने उद्देश्यले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३० वटा नमूना कानून तयार पारेको छ ।
मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले देशभरिका ७५३ स्थानीय तह सञ्चालन गर्नका लागि ३० नमूना कानून तयार पारिएको जानकारी गराए । उनले तत्काल स्थानीय तह सञ्चालन गर्नका लागि नमूना कानून बनाइएको बताए ।
संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा मद्दत पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर/उपमहानगर/नगर/गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून’, ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन् ।
हामीले नमूना कानून बनाएर दिएको र स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेका उनले भने, उनीहरुले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक छैन ।
आवश्यकता अनुसार अन्य कानून पनि कानून मन्त्रालयको मद्दतमा मस्यौदा बनाइरहेको उपसचिव रिजालले जानकारी दिए । मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले प्रदेश सरकार बनेपछि अन्य कानून पनि बनाइने बताइन् ।