आज देशका अधिकांश भेगमा वर्षाको प्रभाव

काठमाडौँ, माघ १० । आज देशका अधिकांश भेगहरुमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको छ ।

सो वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भू–भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी गराएका छन् । मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको उनले बताए ।

साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उनले बताएका छन् । काठमाडौँ उपत्यकाको आजको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । काठमाडौँमा आज दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी बर्षा डडेल्धुरामा भएको छ । त्यहाँ १२ मिलीमिटर वर्षा भएको छ ।