बनेपा, माघ ११ । कृषि क्षेत्रमा महिला पुरुषको पारिश्रमिक बराबरी नभएको भन्दै महिलाहरुले ज्याला समान गराउन माग गरेका छन् ।
कृषि क्षेत्रमा पुरुषको तुलनामा महिलाहरुलाई सधैँ ज्यालामा ठगिने भएकाले उनीहरुले यस्तो माग राखेका हुन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको बताए ।
उग्रचण्डीनालाकी भावना बजगाईंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि ज्यालामा विभेद भएको गुनासो गरिन् । उनले महिलालाई कृषिमा आधारित काममा रु ४८० मात्रै दिइएको र पुरुषलाई रु ८०० दिएको जनाउँदै समान पारिश्रमिकका लागि सबै महिला एक हुनुपर्ने बताइन् ।
उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताइन् । बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी गराउँदै पारिश्रमिकमा असमानता सबै क्षेत्रमा रहेको बताइन् ।