जापानले नेपाललाई बत्तीस करोड अनुदान उपलब्ध गराउने

काठमाडौँ, माघ ११ । खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई रु ३२ करोड ४८ लाख रकम अनुदान स्वरुप उपलब्ध गराउने भएको छ ।

जापान सरकारले खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउने भएको हो ।

नेपालको कृषि क्षेत्र गत वर्षको बाढीले नराम्रोसँग प्रभावित भएको थियो भने बालीनालीसमेत बगेर नष्ट भएको थियो । जापान सरकारको प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन केनेडी राउण्ड योजना अन्तर्गत सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

अनुदान सहयोग सम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले सो कार्यक्रम कार्यान्वयन गर्नेछ ।

त्यस अवसरमा सचिव अधिकारीले नेपालको भौतिक पूर्वाधार, सामाजिक एवं दिगो विकासका निम्ति निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गरे भने सो कार्यक्रम कार्यान्वयनबाट नेपालका दुर्गम जिल्ला खाद्यान्न संकटबाट मुक्त हुने राजदूत ओगावाले विश्वास व्यक्त गरे ।