‘सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गरिनुपर्ने जरुरी’

काठमाडौँ, माघ ११ । भृकुटीमण्डपमा आजदेखि सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण शुरु भएको छ । यही माघ १६ गतेसम्म हुने उक्त मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएका छन् ।

 उक्त प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित उक्त मेलाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई/दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको बताए ।

उनले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गरिनुपर्ने जरुरी रहेको भन्दै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक परेकोमा जोड दिए । संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भए, देशले राजनीतिक स्थायित्व प्राप्त गरेको र अब आर्थिक समृद्धिमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।

सूचना प्रविधिको विकासमा सरकारी लगानी बढाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।