एसइई परीक्षाका लागि तयारी शुरु

भक्तपुर, माघ । यही चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन थालिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन शुरु गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । परीक्षाको तयारी तीव्र पारिएको जनाउँदै उनले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगीसकेको जानकारी दिए ।

केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको भन्दै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको बताए । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ ।

परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिएका छन् । विद्यार्थीले कार्यालयको वेभसाइडमा गएर प्रश्नपत्रको नमूना हेर्न सकिने जनाउँदै उनले कार्यालयले सबै विषयको नमूना प्रश्नपत्र बनाएको बताए ।

एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ ।