चितवन, माघ १२ । काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बताएका छन् ।
आज नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए । कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना नभएको उनको भनाइ छ । पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौ उनले भने ।
नेता खाँडले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उनले उहाँहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उहाँहरुकै विषय भएको बताए । आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने जनाउँदै उनले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताएका छन् ।
पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि बताए । अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताए । सरकारले जनताका अपेक्षा अनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको बताए ।