भन्सार प्रशासनलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउनुपर्ने
काठमाडौँ, माघ १२ । भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउनुपर्ने कुरामा जोड दिइएको छ ।
छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागद्वारा आयोजित कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका गरेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्या देखिएकाले भन्सार असुलीमा समस्या देखिएको बताए । उनले भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्न निर्देशन दिँदै व्यवसायी र विभागबीचमा समझदारी गरेर विद्यमान समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।
भन्सार राजश्वमा अपेक्षित लक्ष्य नपुगेको अर्थमन्त्री कार्कीले बताए । उनले भने राम्रो सन्देश दिएको छैन । त्यसलाई सुधार गर्नुपर्छ । उनले सुशासनको माध्यमबाट मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताए । अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्धबाट मुलुकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गर्दै देशभरका भन्सार बिन्दुलाई भौतिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने बताए ।
वित्तीय अनुशासनलाई सुधार नगरीकन मुलुकको आर्थिक विकास सम्भव नभएको भन्दै त्यस विषयमा राज्य तथा निजी क्षेत्रले ख्याल गर्नुपर्ने महालेखा परीक्षक टंकमणि शर्माले बताए । उनले वित्तीय मूल्यांकनका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रमा ७५ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा भएकाले आर्थिक क्षेत्र खराब हुनुमा निजी क्षेत्र जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले आर्थिक क्षेत्र जरजर हुनुमा निजी क्षेत्र जिम्मेवार रहेको आरोप लगाय ।
अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक, प्रशासक र व्यवसायी तीनवटै पक्ष एउटै उद्देश्यका लागि अगाडि बढेमात्र आर्थिक समृद्धि र लगानीको वातावरण बन्ने बताए । उनले संविधान, कानून र पद्धतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । राजश्व सचिव शिशिर ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएका र त्यसको नतिजा पनि देखिन थालेको भन्दै सुधारलाई निरन्तरता दिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघ सुरक्षित व्यवसायी गर्ने उल्लेख गर्दै भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने उल्लेख गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधार तथा लगानीका लागि उपयुक्त अवसर प्राप्त भएकाले त्यसका लागि राज्यपक्ष सकारात्मक भएर अगाडि बढ्ने समय आएको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायलाई आधुनिकीकरण गर्न र भन्सार सुधारलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा द काठमाडौँ पोष्टका आर्थिक ब्यूरो प्रमुख रुपक डी शर्मालाई भन्सारका विषयमा उत्कृष्ट समाचार संकलन गरेको भन्दै भन्सार विभागले सम्मान गरेको छ । त्यसैगरी राजश्व विभागका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।