राजनीतिक दललाई आफ्नो आय–व्यय माघ मसान्तभित्र बुझाउन सूचित

काठमाडौँ, माघ १५ । राजनीतिक दललाई आफ्नो बार्षिक आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउनका लागि निर्वाचन आयोगले सूचित गरेको छ ।

आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसैबीच आयोगले प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका राजनीतिक दललाई सो निर्वाचनमा खर्चको विवरण निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र पेश गर्ने निर्देशन दिएको हो । प्रदेश सभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजारका दरले खर्च गर्न सक्ने तोकेको थियो ।

निर्वाचनको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।