काठमाडौं, माघ १५ । आज निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अनुसार राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।
आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने प्रवक्ता नवराज ढकालले बताएका छन् । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यसभन्दा अघि २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको प्रवक्ता ढकालले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचन माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।
५९ सदस्य रहने राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।