वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्ण रुपमा लागू गरिने : दाहाल

काठमाडौँ, माघ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दृढता व्यक्त गरेका छन् ।

आज प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गर्ने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए । राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्ने कुरामा जोड दिँदै उनले जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी रहेको बताए ।

राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति आवश्यक परेको बताए । देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको बताउँदै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे । हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन नदिने अध्यक्ष दाहालले बताए । सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए ।

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता जनाउँदै उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने अठोट गरे । देशको पक्षमा सकारात्मक भूमिका खेलिदिनसमेत उनले पत्रकारलाई अनुरोध गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे ।

जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरिएको छ । पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ । यस्तै जनयुद्धको समयमा युद्धपत्रकारितामा नै संलग्न संगीता खड्का, देवकी तिमिल्सिना लगायतलाई पनि सम्मान गरिएको थियो ।