दुई दिने भ्रमणका लागि स्वराज आज नेपाल आउँदै

काठमाडौँ, माघ १८ । भारतिय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि आज आउँदै । स्वराजसंगै नवनियुक्त विदेश सचिव विजय केशव गोखले र सह–सचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि छन् ।

औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको बुझिएको छ । अपराह्न साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनलाई विमानस्थलमा परराष्ट्रसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् ।

आजै साँझ स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोज सहित भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री स्वराजले भोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिला सम्बन्धी सल्लाहार डा. दिनेश भट्टराईले जानकारी गराएका छन् । उनले भोली नै शीतलनिवास पुगेर राष्टपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।