काठमाडौँ, माघ १८ । २०७५ सालदेखि देखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरबाट हुने भएको छ । सरकारले अर्को वर्षदेखि (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको बताएका छन् । चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने उनको भनाइ छ । हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौ, लम्सालले भने, चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छौ ।
एउटै मितिमा सञ्चालन भए पनि सात वटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने उनको भनाइ छन । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ । मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवौं संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भए अनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताए ।
प्रदेशबाट एसइई सञ्चालनका लागि ६ नं प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् । मन्त्रालयका प्रवक्ता डा लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताएका छन् ।