शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माणमा सबैको सहयोग आवश्यक : प्रम

काठमाडौँ, माघ २१ । सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

सबै क्षेत्रमा सरकारले नै काम गर्न सक्दैन, स्थानीयवासी एवं सरोकार भएका अन्य निकायको पनि सहयोग लिनुपर्ने, विद्यालय र स्थानीय मठमन्दिर निर्माणका लागि स्थानीयवासीले पनि सकेको योगदान गर्नुपर्ने उनको भनाइ छ । उक्त अवसरमा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले राजधानीमा भएर पनि पिछडिएको क्षेत्रको शिक्षा एवं जीवनस्तर सुधारका लागि यज्ञका माध्यमबाट सहयोग जुटाउन अनुरोध गरे ।

शिक्षा क्षेत्रको सुधारका लागि सबै एकजुट हुनुपर्नेमा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले जोड दिए । क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपाल, प्रा डा ऋषिराम पोखरेल तथा महायज्ञ आयोजक समिति अध्यक्ष दामोदर पौडेललगायतले यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग पुग्ने जनाए ।

यही माघ २९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा बाल योगेश्वरले कथा वाचन गर्नेछन् । महायज्ञबाट संकलित रकम विद्यालय एवं शिवपाञ्चायन मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ ।