पोखरा, माघ २२ । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा शुरु भएको छ । ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बैठकको अध्यक्षता गरेका छन् । आजको बैठकमा संसदीय परम्परा अनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक बोलाएको सूचना पढिने छ । आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल छनोट गरिने छ ।
बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले उक्त बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको जानकारी दिएका छन् । यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिएका सांसद छन् ।
नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् । प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।
संसद् बैठकमा सहभागी बन्नका लागि अधिकांश प्रदेशसभा सदस्य आइतबार नै प्रदेश मुकाम पोखरा आइपुगेका थिए । बैठकको मूल कक्षमा सभामुखसहितको रोष्टमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्ची र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएको टेबुल राखिएको छ ।
मूल कक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ । प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरू निर्धारित गरिएको पोशाक अनुसार नै पुरुष सदस्य दौरासुरुवाल, सुटपाइन्ट एवं महिला सदस्य साडी चोलोमा सहभागी भएका छन् ।