रौतहट, माघ २३ । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेकी छिन् ।
चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् । देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको, जुन काम एकदमै अतुलनीय रहेको उनको भनाइ छ ।
प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताए । नमूना बस्तीको हास्य कलाकार महजोडीले पनि खुलेर प्रशंसा गरे ।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उक्त बस्तीको निर्माण सबै सहयोगी हातबाट भएको बताए । कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ घर निर्माण भएको छ ।
गत असोज ४ गते शिलान्यास भएको उक्त नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ निर्माण भएका छन् । गत साउनमा आएको बाढीले उक्त गाउँका दलित परिवारका घर डुबानमा परेको थियो ।
करिब रु पाँच करोड २४ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खटेका थिए । कट्टेलले उक्त बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको बताएका छन् ।