पोखरा, माघ २४ । प्रदेश नं ४ को राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत पोखरामा मतदान शुरु भएको छ ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा थालिएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी गराएका छन् ।
मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उनले बताए ।
यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक/एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन् ।