शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विद्यार्थी संगठनको माग

काठमाडौँ, माघ २४ । पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विभिन्न विद्यार्थी संगठनको माग छ ।

बुधबार अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै चर्को शुल्क वृद्धि रोक गर्नुपर्ने माग गरेका हुन् ।

सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा हुने गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै अनेरास्ववियूका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेवि संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोलीसमेत गठन गरिएको छ ।

उक्त टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगञ्जको अनुगमन गर्नेछ ।

ती विद्यार्थी संगठनले संविधानप्रदत्त अधिकार अनुरुप आधारभूत र माध्यमिक शिक्षालाई पूर्ण रुपमा निःशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रबाट लागू गर्नुपर्ने समेत माग गरेका छन् ।

विद्यार्थी संगठनले राखेका माग जतिसक्दो चाँडो सम्बोधन नगरेको खण्डमा कडा संघर्षमा जाने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले बताए ।