गोरखा, माघ २६ । विकासको क्षेत्रमा गोरखालाई नमूना बनाउने नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्लाको रुपमा चिनाउने भट्टराईको प्रतिवद्धता छ । गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
भट्टराईले मानव सेवा आश्रमलाई सांसद अवधि पाँच वर्षसम्म मासिक रु दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । आश्रमले बेसहारा, अपांग तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासीय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा प्रदान गरेको छ ।
यस्तै प्रदेश सांसद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि आश्रमलाई मासिक रु एक हजार सहयोग गर्ने बताए । आश्रमका संरक्षक डा गोविन्द टण्डनले नेपाललाई मानवताको सहर बनाउने अभियान जारी रहेको बताएका छन् ।