बुटवल, माघ २८ । २०७१ असार १ मा पूर्वपश्चिम विद्युतीय रेलमार्गको तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका छन् ।
मन्त्री निधिले शिलान्यास गरेयता पूर्वी खण्डको पहिलो चरणको काम रेल विभागले पूरा गरेको छ । पहिलो चरणको काम अन्तर्गत विभागले बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग निर्माणको काम गरिरहेको छ ।
हामीलाई प्राप्त बजेटका आधारमा सक्दो काम गरिरहेका छौं– रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । मेची–महाकाली विद्युतीय रेलमार्गबाट जोड्ने योजना २०६९–०७० को बजेटमार्फत १५ वर्षभित्र पूरा गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरिएको थियो । तर त्यस अनुसार सरकारले बजेट नदिँदा अहिलेसम्म देशभरकै डीपीआर तयार भएको छैन ।
९ सय ४५ किलोमिटर खण्डलाई ९ खण्डमा विभाजित गरेर काम भईरहेको छ जस अनुसार पूर्वी क्षेत्रमा डीपीआर सकेर निर्माणको काम चलिरहेको छ भने बुटवलदेखि पश्चिमको खण्डमा डीपीआरको काम जारी रहेको छ ।
‘बुटवलदेखि महाकालीसम्मको खण्डमा ४ वटा स्थानबाट ४ वटा टोलीले अध्ययन गरिरहेका छन्, महानिर्देशक आचार्य भन्छन् –‘१५ महिनामा यो काम सक्ने योजना हो, ६ महिना पूरा भइसकेको छ, बाँकी समयमा सबै क्षेत्रको काम पूरा हुन्छ र हामी अर्को चरणको काम थाल्ने योजनामा छौं ।
यसअघि कोरियन कम्पनीले गरेको सर्भेको विभिन्न स्थानमा विरोध भएपछि विभागले चिनियाँ टोली खटाएर थप अध्ययन गरिरहेको छ । बाक्लो बस्तीको बीचबाट रेलमार्ग बनाउँदा समस्या उब्जिने भएकाले चिनियाँ टोलीले यसअघिको सर्भेको पुनरावलोकन गर्दै डीपीआर तयार पार्ने महानिर्देशक आचार्यको भनाइ छ ।
‘विभिन्न विकल्पहरू खोजेर बस्ती भन्दा केही परबाट रेलमार्ग लैजानका लागि चिनियाँ टोलीलाई जिम्मा दिइएको जनाउँदै बस्ती र निकुञ्ज भन्दा टाढाबाट मार्ग बनाउने गरी अहिले अध्ययन भइरहेको उनले बताएका छन् ।’