अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १७ देखि

काठमाडौँ, माघ २८ । नेपालको संस्कृतिलाई विश्वमाझ परिचित गराउनका लागि एभरेष्ट नेपाल सांस्कृतिक समूहले आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ ।

लामो समयदेखि नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै आएको समूहले विश्वका १० मुलुकका कलाकारलाई नेपालमा बोलाएर फागुन १७ देखि २६ गतेसम्म मेला आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी गराए ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौँ, ललितपुर, नवलपरासी र कास्कीमा मेला आयोजना गरिने छ । नेपाली युवा पाश्चात्य संस्कृतिमा रमाउन थालेको वर्तमान अवस्थामा नेपाली संस्कृतिको प्रवद्र्धनका लागि सो मेलाको आयोजना गर्न लागिएको भन्दै कोइरालाले मेलाभर विभिन्न देशका कलाकारले आआफ्नो संस्कृति झल्कने वेशभूषा लगाई सांस्कृतिक झाँकी गर्ने, आफ्नो लोकगीत, संगीत र लोक नृत्यलगायतका प्रस्तुति दिने बताए ।

मेलामा नेपाल, बंगलादेश, भारत, मलेसिया, इन्डोनेसिया, कोस्टारिका, इस्टोनिया, ग्रीस, टर्की, इटाली र इजरायलका ३०० भन्दा बढी कलाकारको उपस्थिति रहने आयोजकले बताएको छ ।

वि.सं २०५९ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको मेलामा हालसम्म ६५ देशका तीन हजार ५०० भन्दा बढी कलाकारले आआफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।