वृद्धाभत्ता बढाउनुपर्ने ज्येष्ठ नागरिकको माग

काठमाडौँ, माघ २९ । ज्येष्ठ नागरिकहरुले वृद्धाभत्ता बढाउनुपर्ने माग गरेका छन् । अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समय अनुसार बढाउनुपर्ने भन्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् ।

ऐनमा व्यवस्था भए अनुसार यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग सहित विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन नसकेको उनीहरुको गुनासो छ ।

अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमा विरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् । अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरेका छन् ।

वि.सं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ । पछिल्लो पटक ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी) र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ ।

वि.सं २०६८ को जनगणना अनुसार ज्येष्ठ नागरिकको संख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत रहेको छ ।