पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, फागुन १ । महाशिवरात्रिका अवसरमा आज विहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि पशुपतिका चारै ढोका ३ः१५ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले बताएका छन् ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन् । दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था गरिएको छ ।

यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले बताएको छ ।