काठमाडौं, फागुन १ । राजनीतिक संक्रमणकाल सकिएको र अबको प्राथमिकतामा विकास र संमृद्धि रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
महाशिवरात्रिको अवसरमा मंगलबार देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै उनले विकास र संमृद्धि अबको प्राथमिकता भएको बताएका हुन् । ‘हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरे । ‘धार्मिक सांस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ रहेको बताउँदै धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् अध्यक्ष ओलीले भने ।
महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्नेगरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा भएको बताए ।