काठमाडौँ, फागुन १ । नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुरोध गरेका छन् ।
नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा अध्यक्ष ओलीले उक्त अनुरोध गरेका हुन् ।
जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गर्न सफल भएकोमा बधाई दिँदै आफूहरु नेपालमा लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पारेको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले बताए ।
राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधा बारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले अनुरोध गरेका थिए ।
यस्तै बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले अनुरोध गरेका थिए ।