शान्ति सुरक्षा फितलो भएपछि धानुकको स्थानमा पोखरेल

काठमाडौं, फागुन १ । काठमाडौं प्रहरी परिसरमा एस.एस.पि.रहेर ६ महिना काम गर्ने अवसर पाएका रविन्द्रबहादुर धानुकको संघीय प्रहरी इकाइ कार्यालय बाग्लुङमा सरुवा भएको छ ।

एस.एस.पि. धानुकले प्रहरी परिसरमा रहँदा उल्लेखनीय काम गर्न नसक्दा उनलाई सरुवा गर्नु परेको प्रहरीको उच्च स्रोत बताउँछ । प्रहरी परिसरमा उनी रहँदा दरबारमार्गमा भएको बलात्कारको घटना, नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष सरदकुमार गौचनमाथि दिनदहाडै नै गोली हानी हत्या हुनु, चुडामणी शर्माको घरमाथि भएको हमला तथा शर्माको घरमा शान्ति सुरक्षा खलबलाउने वातावरणको सृजना गर्नु, अख्तियारीमा भएको स्टिम अपरेशनमा पनि आर्थिक अनुशासन कायम गर्न नसकेका कारण उनको सरुवा भएको प्रहरी परिसरका एक कर्मचारीले बताए ।

धानुकले राजनीतिक चाकडीका भरमा आफ्नो पदको दुरुपयोग गर्दै जनताका समस्या समाधान गर्न नसकेपछि उनलाई सरुवा गरि उक्त स्थानमा एस.एस.पि विश्वराज पोखरेललाई ल्याउनु परेको प्रहरी स्रोत बताउँछ । पोखरेललाई उनको अनुभवको आधारमा र जनताको शान्ति सुरक्षाका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको बताइन्छ । राजधानी भित्रै धानुकको कार्यकालमा जनताका हितमा काम हुन नसकेपछि पोखरेललाई परिसरमा ल्याइएको हो ।

सरल स्वभाव, मिजासिलो व्यवहार, जनताका काममा दिनरात नभनी काम गर्ने पोखरेललाई काठमाडौं प्रहरी परिसरमा सरुवा गरेपछि धानुकले विभिन्न मिडियामा बेतुकका समाचार सम्प्रेषण गरिरहेका छन् । पोखरेलले जनताका हितका लागि उल्लेखनीय काम गरेर देखाउने विश्वास काठमाडौं प्रहरी परिसरले लिएको एक कर्मचारी बताउँछन् ।

पोखरेलले जिल्ला प्रहरी कार्यालय मोरङमा रहँदा गरेका कामहरुको उच्च मुल्यांकन गर्दै, एस.पि. भएका बेला प्रहरी परिसर काठमाडौंमा १ वर्षसम्म पोखरेलले गरेका कामका आधारमा उनलाई काठमाडौं प्रहरी परिसरमा सरुवा गर्नु परेको प्रहरीको उच्च स्रोत बताउँछ ।