काठमाडौं, फागुन २ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नेपाली काँग्रेसले निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।
पहिले बुझाएको नामावलीमा त्रुटी भएको भन्दै निर्वाचन आयोगले कांग्रेसलाई नामावली सूची सच्याउन पत्र काटेको थियो । काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताएका छन् ।
नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस/आर्य कोटामा परेका थिए । काँग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको थियो । काँग्रेसले यस अघिको सूची सच्याएर बुधबार नै आयोगमा बुझाएको छ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय हिजो समाप्त भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ काँग्रेसले ४० स्थान प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कम मत प्राप्त भएपनि समानुपातिकतर्फ एमाले र कांग्रेसको झण्डै बराबरकै मत आएको थियो ।