पत्रकारको तलव तत्काल पुनरावलोकन गर्न माग

काठमाडौं, फागुन २ । पत्रकार, कर्मचारी र मजदुरहरुको तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिले माग गरेको छ ।

महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले बढ्दो महङ्गीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको कठिनतालाई समेत मध्यनजर गर्दै श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न समितिको ध्यानाकर्षण गराएको छ ।

महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले बुधबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउदै २०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिलेको समय सापेक्षित नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम शुरु गर्न आग्रह गरेको छ ।

समितिका सह संयोजक जन्मदेव जैसीद्वारा बुधबार जारी गरिएको बिज्ञप्तिमा यसरी पुनरावलोकन सिफारिस गर्दा तत्कालिन सुरेश आचार्य समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि गर्न, स्ट्रिन्जरहरुको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शीता व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण गराएका छन् ।

बिज्ञप्तिमा यी माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रने चेतावनी समितिले दिएको बताईएको छ । प्रतिनिधिमण्डलमा समितिका सहसंयोजक जैसीसहित सदस्यहरु यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी भई लिखित माग पत्र बुझाएका थिए ।